मिडियाबाजी डटकम काठमाडौं, माघ २२ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यातायातलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको छ । प्राधिकरणले विभिन्न ६ ओटा निर्णय गर्दै विमानस्थलहरूमा अवतरण उचाइ कायम गर्ने र पाइलटले १ दिनमा जहाज उडाउन पाउने अवधि घटाएको छ ।
यही माघ १ गते निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएसँगै हवाई यातायातको सुरक्षाबारे चासो बढेको छ । प्राधिकरणले उक्त दुर्घटनापछि सुरक्षालाई थप भरपर्दो बनाउन नयाँ निर्णय गरिएको जानकारी दिएको छ । प्राधिकरणले नेपालको उडान सुरक्षालाई नियमित रूपमा अद्यावधिक गर्दै आएको पनि बताएको छ । शुक्रवार निर्णयहरू सार्वजनिक गर्दै प्राधिकरणले सुगम ९स्टल० रूटका विमानस्थलमा अवतरणका लागि निश्चित उचाइ अनिवार्य रूपमा कायम गर्नुपर्ने निर्णय गरेको छ ।
हेलिकोप्टरबाहेक अन्य वायुयानले भीएफआर भिजुआल फ्लाइट रूट अन्तर्गत सर्ट टेकअफ एन्ड ल्यान्डिङ स्टल विमानस्थलहरूमा जमीनको सतहबाट कम्तीमा ५०० फीटको उचाइ अनिवार्य कायम गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको छ । यस्तै अन्य विमानस्थलमा यस्तो उचाइ हजार फीट अनिवार्य कायम हुनुपर्नेछ । प्राधिकरणका यो नियम लागू गर्दा पाइलटहरूले यो उचाइमा आएपछि र निर्धारित उचाइभन्दा अझ कममा ओर्लिएपछि धावनमार्ग परिवर्तन गर्न पाउने छैनन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।