मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिगको काठमाडौँ नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको प्ररस्ताव आएको खुलासा गरेका छन् । मंगलबार विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको खुलाएका हुन् । उनले यसबारे आफूहरूले माथिल्लो तह एसीयू एन्टी करप्सन युनिट मा कुरा पुर्याइसकेको बताए ।
उनले भने, ‘अप्रोच र फिक्सिङ फरक कुरा हो । अप्रोच गर्यो भन्दैमा गर्छ भन्ने नै हुँदैन । हामीले त्यो कुरालाई बेवास्ता गर्यौँ, तैपनि हामीले रिपोर्ट गरेका छौं, यसलाई एसीयूले टेक केयर गरिसकेको छ ।’ यसअघि नेपाल टी २० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले पनि प्रतियोगितामा धेरै शंकास्पद गतिविधि भएको बताएका थिए । ज्ञानेन्द्रले खेलाडीको नाम भने खुलाएका छैनन् । तर जारी टि ट्वान्टीमा म्याच फिक्सिङ भइरहेको भने प्रमाणित भएको छ । विवादले घेरिएको टी ट्वान्टीमा खेलाडी र अम्पायरले पारिश्रमिक नपाएको गुनासो आएको छ । खेलाडीहरुले आजको खेल समेत रोक्ने चेतावनी दिएका थिए । तर पछि सहमति पछि खेल भएको थियो । जसमा काठमाडौँले विराटनगरलाई हराएको थियो ।