गुप्सीपाखास्थित भूकम्पपीडितको एकीकृत बस्तीमा खानेपानीको अभाव

  माघ १९, २०७९

मिडियाबाजी डटकम, धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखास्थित भूकम्पपीडितको एकीकृत बस्तीमा खानेपानी अभाव भएको छ । पानीको समस्या थपिएसँगै गुप्सीपाखा बस्तीमा सरेका स्थानीय पुरानै बस्ती लाप्राक फर्कन थालेका छन् । २ हजार ७ सय ५० मिटर उचाइको गुप्सीपाखामा ६ करोड खर्च गरेर चराचुरुंगी हिमाल फेदको भुल्मेचेत मुहानबाट पानी ल्याइएको छ । चिसो बढेसँगै पाइपभित्रै पानी जमेर फलामे पाइप फुटेपछि खानेपानी अभाव भएको हो ।

चिसो र खानेपानी समस्या बढ्दै गएपछि स्थानीय धनबहादुर गुरुङ चार जनाको परिवारसहित पुरानै बस्ती लाप्राक फर्किएका छन् । ‘जाडो बढ्यो पानी पनि आएन, घर रुँघेर किन दुःख खेप्नु ? ’ उनले भने, ‘दुई महिना भयो, तलै बस्ती फर्किएका छौं । ’गुप्सीपाखा बस्तीमै रहेका भने दुई घण्टा लगाएर रिन्जुलिङको धारामा खानेपानी लिन पुग्ने गरेका छन् । ‘रिन्जुलिङको एउटा धारामा बस्तीकै मान्छे पानी लिन जाँदा भीडभाड हुन्छ,’ उनले भने, ‘फेरि नजिक होइन, जाँदा ओरालो भए पनि आउँदा पानी बोकेर उकालो उक्लन झनै गाह्रो छ । एक गाग्री पानीकै लागि बिहान बित्छ ।’

केही स्थानीयले भने एक गाग्री पनि फारु गरेर चार दिनसम्म प्रयोग गर्ने उनले सुनाए ।गत मंसिर अन्तिम साताबाट गुप्सीपाखामा पानी आउन ठप्प बनेको भुम्लेचेत खानेपानी व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङले बताए । ३ हजार ७ सय ६० मिटर उचाइको भुम्लेचेत मुहान क्षेत्रको तापक्रम शून्य डिग्री सेल्सियसमा पुगेसँगै पानी पाइपभित्र जमेर फुटेको उनले बताए । ‘हिमालको फेदबाट पानी ल्याएका हौं, चिसोले जमेपछि फलामको पाइप फुट्दो रहेछ,’ उनले भने । भुम्लेचेत मुहानबाट १९ किलोमिटर पाइप बिछ्याएर गुप्सीपाखामा पानी पुर्‍याइएको छ ।

पाइप सुकेर बाँसको कप्टेराजस्तो बनेर फुट्ने गरेको उनको भनाइ छ । ३ हजार ७ सय ६० मिटर उचाइदेखि ३ हजार ३ सय मिटरसम्म पानी जमेर पाइप फुट्ने समस्या थपिएको उनले सुनाए । ‘कालखर्क, स्याङवरा खर्क क्षेत्रमा धेरै पाइप फुटेका छन्, कति ठाउँ मर्मत गर्ने हेरिसाध्य छैन,’ उनले भने, ‘चिसोले अन्यत्र पनि पाइप फुट्ने चिन्ताले पिरोलेको छ ।’ गुप्सीपाखाबाट भुम्लेचेतको मुहान पुग्न स्थानीयलाई दुई दिन लाग्छ । ‘एक रात अधेरीखर्कमा बास बसेर भोलिपल्ट मात्र मुहानमा पुगिन्छ,’ अध्यक्ष गुरुङले भने, ‘अहिले मर्मत गर्न सम्भव छैन ।

अब चैत–वैशाखमा तापक्रम बढेपछि मात्र मर्मतमा लाग्ने योजना बनाएका छौं ।’ तर मर्मतका लागि पनि खानेपानी समितिसँग रकम अभाव छ । वडा कार्यालयले पुरानो बस्तीदेखि नयाँ बस्तीसम्मका लागि भनेर चालुवर्ष खानेपानी शीर्षकमा ५ लाख छुट्याएको छ । ‘गत वर्ष यही फुटेको पाइप मर्मत गर्न तीन लाख खर्च भएको थियो, यो वर्ष त्यही पैसा पनि छैन,’ उनले भने । प्राविधिकले सुझबुझ नपुर्‍याउँदा खानेपानी आयोजनाले बर्सेनि पिरोलेको स्थानीयको गुनासो छ ।

गुप्सीपाखा पुगेको पानी करिब ४ सय घरले जडान गरेका थिए । चिसोका कारण ६ करोडको खानेपानी आयोजनाको पानी भने यहाँका स्थानीयले वर्ष दिनभरि प्रयोग गर्न पाएका छैनन् । ‘वैशाखबाट कात्तिक १५ सम्म पानी आउँछ, त्यसपछि चिसोले पानी जम्छ,’ गुरुङले भने, ‘यो वर्ष मात्र होइन, बर्सेनि ७ महिना पानी खान पाउँछौं, पाँच महिना ठप्प । ’खानेपानी सरसफाइ डिभिजन कार्यालय तथा केयर नेपालमार्फत स्वाँरा सघन गाउँ विकास केन्द्रले निर्माण गरेको आयोजना अघिल्लो वर्ष निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ ।

खानेपानी आयोजनाका निर्माण सामग्री ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको थियो । बर्सेनि मर्मत गर्नुपर्ने बाध्यता थपिएपछि यहाँका स्थानीयले अर्को मुहानबाट पानी ल्याउन पहल थालेका छन् । बस्तीबाट ९ किलोमिटर दूरीमा रहेको त्यायतापुक खर्कबाट पानी ल्याउन डीपीआरसमेत भएको अध्यक्ष गुरुङले बताए । डिभिजन खानेपानी कार्यालयका प्राविधिक गत वर्ष डीपीआरका लागि लाप्राक पुगेका थिए ।

‘डीपीआर भए पनि योजनाको काम अघि बढेको छैन,’ उनले भने, ‘यसको काम अघि बढाउनुपर्ने हाम्रो माग हो, यो हिमालभन्दा अलि वरै छ, भुम्लेचेत खानेपानीको पाइपमा त्यो पानी ल्याएर जोड्न सके बाह्रै महिना पानी बस्तीमा खस्छ ।’ नयाँ योजनाअन्तर्गत त्यायतापुक खर्कको पानी भुम्लेचेत योजनाको पाइप बिछ्याएको लाम्रो खर्कमा जोड्न सकिने उनले बताए । गुप्सीपाखामा ६०१ घर छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर