मिडियाबाजी डटकम काठमाडौं,पौष १८। सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ । दुई वर्षको मात्रै श्रमस्वीकृति दिइरहेको सरकारले अब तीन महिनादेखि एक वर्षको लागि श्रम स्वीकृति दिने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले मौसमी कामदारको माग अत्यधिक आएकाले मौसमी कामदार व्यवस्थापन निर्देशिका बनाएर पठाउन लागिएको बताए ।
वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामका लागि श्रमिक पठाउन लागिएको हो। छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम ९१० को अधिकार प्रयोग गरी निर्देशिका बनाएको हो ।
ऐनको दफा ३ र ६ अनुकूल हुने गरी सरकारले द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने जनाइएको छ । नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गर्ने निर्देशिकामा उल्लेख छ । ऐनको दफा ३ बमोजिम श्रम सम्बन्ध स्थापना भएपछि मौसमी रोजगारका अवसर दिनका लागि रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानुनबमोजिम रोजगारदाताले सहजीकरण गर्नेछन् । स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरण गर्न पाउनेछन् । विवरण खुलाई अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।