मिडियाबाजी डटकम काठमाडौं, पौष १७। काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन् । आइतबारको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । जनकपुर पाँचौ जितको खोजीमा रहेको छ भने काठमाडौं तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने काठमाडौं ४ अंक सहित तेस्रो स्थानमा रहेको छ।
यही संस्करणको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो । जनकपुर आइतबारको खेल जितेर यसअघिको हारको बदला लिन चाहन्छ भने काठमाडौं चाहिँ फेरि पनि जनकपुरलाई हराउन चाहन्छ । आइतबार नै हुने दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । लुम्बिनी छैठौं जित निकाल्न चाहान्छ । विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । विराटनगर ५ खेलमा ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।