मिडियाबाजी डटकम काठमाडौं, पौष १५ । नेपाल टी-२० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले फार वेस्ट युनाइटेडलाई हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले ३ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँच हारपछि पहिलो जित निकालेको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । फारवेस्टका लागि उमैर अलीले ४२ रन बनाउँदा देव खनालले ३३ रन बनाए। त्यस्तै राशिद खानले ३२ रन बनाउँदा हसिम अन्सारी र भीम सार्कीले समान १७ रन तथा बिनोद भण्डारीले ११ रन बनाए । बलिङतर्फ पोखराका जाहीर खानले सर्वाधिक ३ विकेट लिँदा अमीर हम्जा र तुल थापाले समान २ विकेट लिए। त्यस्तै कुशल मल्ल र आरिफ शेखले समान १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको पोखराले १९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । पोखराका लागि आशिफ शेखले सर्वाधिक ४५ रन बनाउँदा कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५ छक्काको सहायतामा ४० रन बनाए । त्यस्तै सुमित महर्जनले ३८ रन बनाउँदा सिद्दान्त लोहनीले २३ रन बनाए । बलिङतर्फ करण केसी, उमैर अली र प्रकाश जैशीले समान २ विकेट लिँदा भुवन कार्कीले १ विकेट लिए । जारी प्रतियोगितामा पोखराको यो पहिलो जित हो ।