पोखरामा मंसिर २४ र २५ गते पर्वतीय महोत्सव हुने

  मङि्सर १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १४।पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ ।

संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो ।‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।

महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्रहरुको प्रदर्शनी र वाल क्लाइम्बिङ जस्ता कार्यक्रम महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवमा निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ । महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । पोखराको पर्यटन व्यवसायमा वृद्धि गर्ने विषयमा बहस पनि गरिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर