घनश्याम भुसाल भन्छन् : केपी ओलीसँग नैतिकता नै छैन

  कार्तिक १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १३।नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो ।आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीरसमेत गरे ।

भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौं । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो ।अह दिनु भएन ।’

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही-१ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर