राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दाबी छाडे

  असोज १४, २०७९

मिडियाबाजी डटकम १४ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दाबी छाडेका छन् । २०७४ मा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ बाट लड्ने निष्कर्षमा पुगेका छन् ।

२०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएका थिए । त्यसको बलमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यो पटक निधि समानुपातिक पद्धतितर्फ उम्मेदवार बनेका छन् ।तर महतोले पनि धनुषा-३ बाट चुनाव नलड्ने भएका छन् । यसपटक मधेश आन्दोलनको प्रभाव छैन ।

स्थानीय निर्वाचनको नजिताले पनि महतोलाई यो क्षेत्रमा सहज देखिएको छैन ।एमालेले पनि जुलीकुमारी महतोलाई अघि सार्ने भएपछि महतो चुनाव नलड्ने निर्णयमा पुगेका हुन् । जुली धनुषा क्षेत्र नं. ३ बाट लड्ने तयारी गरिरहेकाले आफू सर्लाही २ रोजेको नेता महतोले बताए ।‘लोसपा र एमालेबीच गठबन्धन भइरहेको छ । त्यहाँबाट जुलीजी तयारी गर्दै हुनुहुन्छ,’ लोसपा नेता महतोले अनलाइनखबरसँग भने । उनले पछिल्लो समय पटक–पटक सर्लाही २ मा पुगेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर