मिडियाबाजी डटकम काठमाडौं, कार्तिक ११। काठमाडौंको रानीपोखरीमा छठ पर्व मनाउन नपाइने भएको छ ।
पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेस्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकोले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए ।
मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटिकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्वय महानगरले गरेको पनि उनले बताए ।रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको आलोचना गर्दै आएको छ । तर प्रवक्ता मानन्धरले रानी पोखरीमा छठ मनाउन भनेर नै मेयर बालेन साहसहितको बैठक बसेको र तयारी पनि गरिएको तर प्राविधिक समस्या देखिएको रानीपोखरी खुल्ला नगर्ने निर्णय गर्नु परेको बताए ।
कमल पोखरीसहित महानगरमा रहेका अरू पोखरी तथा खोला नदी किनारमा छठ मनाउन आवश्यक तयारी भइरहेको पनि उनले बताए । पुनर्निर्माण प्राधिकरणले रानी पोखरी पुनर्निर्माण गरे पनि त्यसको संरक्षकको जिम्मेवारी महानगरपालिकामा छ ।उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका सालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन ।