मिडियाबाजी डटकम काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ कारागारभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला, मिठाइ, भाइमसलालगायत टीकाका सामग्री लिएर रोशनी दाजु पललाई टीका लगाइदिन कारागारमा पुगेकी थिइन् । तनहुँ कारागार प्रमुख नारायण अधिकारीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए ।
‘हामीले उहाँलगायत तनहुँ कारागारका बन्दीहरुलाई आफन्तजनबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका थियौं । त्यहीअन्तर्गत उहाँले पनि सोही सुविधा प्राप्त गर्नुभएको हो,’ अधिकारीले भने । पल निकट संगीतकर्मी योगेशकाजी र सहयोगी जुरी ठाकुरले रोशनीले कारागारमै पुगेर पललाई भाइटीका लगाइदिएको बताए । ‘यसपटकको भाइटीकामा पनि रोशनी र पलबीच दाजुबहिनीको भावुक दृश्य देखिएको भन्ने सुनें,’ योगेशले भने ।यसपटकको दशैंमा पनि रोशनीले पलको दशैंटीकाको टिकटक भिडियो सेयर गरेकी थिइन् ।
पललाई कारागारमा भेट्न जाने, कानुनी र आर्थिक व्यवस्थापन गर्ने काममा समेत रोशनी सक्रिय छिन् । पलविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । उनीविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो । नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दे दुई वर्ष छ महिना कैद सुनाएको थियो ।
साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने पलविरुद्धको मुद्दा कायमै छ । आगामी पेशी कात्तिक १६ गतेलाई तोकिएको जानकारी पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले दिए ।