अमेरिकाकी चर्चित हिमाल आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्।
गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन् । स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन् । ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन् ।
सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए ।
‘हामी शव निकालेर काठमाडौं ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने।सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो । नेल्सन दुई दशकदेखि हिमाल आरोहणमा संलग्न थिइन् । विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी थिइन्।