विद्यालयको मुल्यांकनमा ९ हजार बोर्डको परीक्षामा ४२ जना ४ जिपिए

  श्रावण १२, २०७९

गत वर्ष भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा देशभरबाट ४२ जनाले मात्रै जिपिए ४.० ल्याएका छन् । कोभिड– १९ महामारीका वेला ०७६ र ०७७ मा विद्यालयले नै आन्तरिक मूल्यांकन गर्दा क्रमशः नौ हजार १९ र आठ हजार चार सय ४४ ले ४.० जिपिए ल्याएका थिए । राष्ट्रिय परीक्षा बोर्डले लिएकोे ०७८ को परीक्षामा मात्रै होइन, कोभिडअघिका वर्ष ०७५ र ०७४ मा पनि जिपिए ४.० ल्याउने परीक्षार्थी कम थिए । ती वर्ष क्रमशः एक सय ६ र ७४ ले मात्रै जिपिए ४.० ल्याएका थिए । कोभिड कालका दुई वर्ष विद्यालयले आन्तरिक मूल्यांकन गर्दा विद्यार्थीलाई मनपरी नम्बर दिएको आरोप लागेकोमा अहिलेको नतिजाले पुष्टि गरेको विज्ञहरू बताउँछन् । तर, बोर्ड अध्यक्ष महाश्रम शर्मा नतिजा सन्तोषजनक रहेको दाबी गर्छन् ।

‘०७८ को नतिजासँग ०७६ र ०७७ को नतिजा तुलना गर्न मिल्दैन, ०७५ र ०७८ लाई हेर्दा सन्तोषजनक छ,’ उनले तर्क गरे । शिक्षासचिव तथा बोर्डका उपाध्यक्ष रामकृष्ण सुवेदी पनि कोभिडको समस्या पूरै नहटेको र सबै परिस्थिति ठीक नभएको अवस्थामा अहिलेको नतिजा राम्रो भएको दाबी गर्छन् ।०७८ को एसइईमा कुल चार लाख ९५ हजार सात सय ५१ विद्यार्थीले फारम भरेका थिए । तीमध्ये २२ हजार ६ सय ४० अनुपस्थित भएको बोर्डले जनाएको छ । परीक्षा दिएकामध्ये जिपिए ३.६ देखि ४.० ल्याउने नौ हजार ६ सय ३३ छन् । यसमा छात्र पाँच हजार दुई सय ८१ र छात्रा चार हजार तीन सय ५२ छन् । शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल अहिलेको नतिजालाई सबै परिस्थितिको परावर्तनका रूपमा लिन्छन् ।

‘एसइईलाई गुणस्तरको कडी मान्नु नै समस्याग्रस्त विषय हो । परीक्षामा प्रक्रिया, विधि र साधन ठीक हुनुपर्‍यो । अहिले कोभिडको असरले सिकाइ उपलब्धि उत्साहजनक छैन । सिकाइ कम भएपछि रिजल्ट पनि कमजोर आउँछ । अहिलेको अवस्थामा एसइईमा अलिकति कमजोर देखिनु स्वाभाविक हो,’ उनले भने, ‘सबै पक्षलाई हेर्दा सिकाइमा समस्या छ । विद्यालयमा गुणस्तरयुक्त सिकाइ प्रणाली हुन सकेको छैन । यो नतिजा सबैको रिफ्लेक्सन हो ।’ राष्ट्रिय परीक्षा बोर्डले ०७८ को एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीका आधारमा गरेको छ । शिक्षा मन्त्रालयले गत पुसमा जारी गरेको लेटर ग्रेडिङ निर्देशिकामा न्यूनतम ३५ अंक ल्याउनेको डी ग्रेड हुने र त्योभन्दा कमको ग्रेडिङ नहुने व्यवस्था गरेको थियो । तर, केही दिनअघि निर्देशिका संशोधन गरी राष्ट्रिय परीक्षा बोर्डले एकरूपता कायम गर्न पुरानै प्रणालीअनुसार लागू गर्न सक्ने व्यवस्था गरिएको थियो ।

मंगलबार बसेको बोर्ड बैठकले त्यहीअनुसार निर्णय गरेर बुधबार नतिजा सार्वजनिक गरिएको हो । एसइईको नतिजा आएका र कक्षा १० मा पढिरहेका विद्यार्थीका लागि पुरानो पाठ्यक्रमअनुसार पठनपाठन हुने भएकाले एकरूपता कायम गर्न निर्देशिका नै संशोधन गरिएको हो । अहिले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थी नै पुरानो पाठ्यक्रमअनुसारको अन्तिम ब्याच हो । नयाँ लेटर ग्रेडिङअनुसार ३५ अंकभन्दा कम ल्याउनेलाई नन–ग्रेडमा राख्ने व्यवस्था छ । ३५ अंकभन्दा कम ल्याउनेलाई मूल प्रमाणपत्र नदिने निर्देशिकामा उल्लेख छ । कक्षा १ देखि १२ सम्म एकरूपता कायम गर्न भन्दै नयाँ लेटर ग्रेडिङ निर्धारण गरेको थियो ।

  • नयाँपत्रिकाडेल्लीबाट

तपाईंको प्रतिक्रिया

थप खबर