एकिकृत समाजवादी ‘यता न उता’ !

  पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ ।  आइतबार पुरानो गठबन्धन भत्किएर एकाएक नयाँ गठबन्धन बन्यो । यसअघि कांग्रेसँग सत्ता साझेदारीमा रहेका दलहरु नयाँ गठबन्धनसँग कुनै न कुनै हिसाबले जोडिएका छन् । तर माधवकुमार नेपालले नतृत्व गरेको एकिकृत समाजवादी भने यता न उता भएको छ । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसले हठ नत्याग्दा गठबन्धन टुटेको आरोप लगाउन थालिसकेका छन् । तर कांग्रेसलाई आरोप लगाएपनि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सात दलीय नयाँ गठबन्धनमा जान तत्तकाललाई सम्भव छैन् ।

तत्कालिन नेकपा विभाजन हुँदा र नेकपा एमाले फुट्दा सबैभन्दा धेरै झगडा माधव नेपाल र केपी शर्मा ओलीबीच नै भएको थियो । उनिहरुले चुनावको नतिजापछि पनि एक अर्कालाई गाली गर्न छाडेनन् । बालकोट स्रोतका अनुसार केपी शर्मा ओली माधव नेपाललाई तत्कालै नयाँ गठबन्धनमा ल्याउने पक्षमा छैनन् ।

खासै जनाधार नभएको एकिकृत समाजवादीले कांग्रेस र माओवादीको जोडबलमा प्रत्यक्षतर्फ १० वटा सिट जितेको छ । प्रत्यक्षमा १० सिट जितेपनि समानुपातिकमा ३ लाख मत पनि कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । यसैले नै उसको कमजोर जनाधार पुष्टि गर्छ । १० सिट नै जितेको भएपनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनमा एकिकृत समाजवादीको राम्रै हैसियत थियो र भागवण्डामा अरु दलले राम्रै स्थान दिएका थिए । तर पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै एकिकृत समाजवादी पार्टी यता न उता भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर