मिडियाबाजी डटकम काठमाडौं,मंसिर १०। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा पर्ने सुनसरी निर्वाचन क्षेत्र नम्बर- ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ ।
सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै मतगणना रोकिएको हो ।शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए ।कार्कीको आरोपपछि निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । तर त्यसमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको थियो ।