माओवादीको दाउ काँग्रेसलाई मनाएर प्रदेशसभाको दुवै क्षेत्र लिने

  भदौ १०, २०७९

सुदूरपूर्व पाँचथरमा निर्वाचनको चहलपहल बढिरहेको छ । तर, सत्ता गठबन्धन दलमा भने सिट बाँडफाँटको सकस देखिन्छ । माओवादी प्रतिनिधि सभा निर्वाचन क्षेत्र कांग्रेसलाई दिएर दुबै प्रदेशसभा निर्वाचन क्षेत्र आफूले लिने दाउमा छ । त्यसो भएमा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे उम्मेदवार हुन सक्छन् । उनी तत्कालीन वाम गठबन्धनबाट २०७४ सालमा पराजित भएका थिए ।

उता माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि प्रतिनिधि सभामा उठ्ने मुडमा छन् । प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित आङ्बोले फेरि प्रदेशमा उठ्दा मुख्यमन्त्री बन्ने अवस्थामा मात्रै आफू उम्मेद्वार बन्ने बताएका छन् । ‘मुख्यमन्त्री पाउने सहमति भए मात्र प्रदेशमा उठ्ने हो नभए संघमा जाने हो,’ आङ्बोले भने ।यता, पाँचथर नै गृहजिल्ला भएका माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) पनि संघ निर्वाचनको दौडमा छन् । उनी हाल अर्थमन्त्री जनार्दन शर्माको स्वकीय सचिवसमेत हुन् । ‘मेरो क्षेत्र पाँचथर नै हो, यहाँबाट बाहिर जाने अवस्था मेरो छैन,’ उनले भने, ‘संघमा टिकट भागबण्डामा अर्को दललाई दिने अवस्था आयो भने प्रदेश निर्वाचन क्षेत्र (क) मेरो गृह क्षेत्र हो ।’ यसरी उनी आफू पनि यस पटक निर्वाचन लड्ने बताउँछन् । यस्तै, संघमा भने भीष्मराज आङ्देम्बे नै उम्मेदवार बन्ने सभापति जबेगुले बताए । ‘संघमा भीष्म दाई नै हो, अरुले चासो दिने कुरा भएन,’ उनले भने, ‘प्रदेश (ख) मा भने माओवादीका नेता इन्द्रबहादुर आङ्बोले उठ्ने भन्नुभएको छ ।’ नेकपा एमालेका तर्फबाट भने संघमा पुनः बसन्त नेम्वाङ उठ्ने पक्का पक्की जस्तै छ ।

उनी पूर्व भौतिक पूर्वाधार मन्त्री समेत हुन् । एमालेले प्रदेश निर्वाचन क्षेत्र (ख) मा आइन्द्र सुन्दर नेम्वाङलाई उठाउने चर्चा छ । उनी मालेका पूर्व केन्द्रीय सदस्य हुन् । एमालेमा आएका उनी हाल एमाले पाँचथरका जिल्ला इन्चार्ज छन् । यस्तै माओवादी केन्द्रबाट एमालेमा गएका श्रीप्रसाद जबेगु र एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी भने प्रदेश निर्वाचन क्षेत्र (क) मा उम्मेद्वारीको लागि होडबाजी गरिरहेका छन् । जबेगुलाई उठाउँदा माओवादीका धेरै कार्यकर्ताको सहानुभूतिको मत उनीतिर जाने सम्भावना रहेकोले एमालेले उनैलाई उठाउने धेरैको आकलन छ ।

  • रातोपाटी डटकमबाट (अर्जुन आचार्य)

तपाईंको प्रतिक्रिया

थप खबर