मिडियाबाजी डटकम काठमाडौं भाद्र ८। रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा उनीहरुले उजुरी दिएका हुन् । सरकारले गत श्रावण २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि कार्यदल गठन गरेको थियो ।डा.भीष्मकुमार भूसाल नेतृत्वको कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरूलाई उजुरी दिन आग्रह गरेको थियो ।
सोहीअनुसार रुपन्देहीमा पनि २८ जना मिटरब्याज पीडितहरूले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।मिटरब्याज पीडितले दिएको उजुरीबारे के कसरी अनुसन्धान तथा कारवाही अघि बढाउने भन्नेबारे भने गृहप्रशासनले कुनै निर्देशन दिइसकेको छैन ।
उक्त कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुने पाण्डेले बताए । भदौ ५ गतेपछि भने उजुरी लिएर कोहीपनि जिल्ला प्रशासन कार्यालय नआएको उनले बताए । यसअघि नवलपरासी पश्चिमका सुस्ता र प्रतापपुरका मिटरब्याज पीडितले काठमाडौंको माइतीघरमा दिनहुँ धर्ना दिन थालेपछि सरकारले कार्यदल गठन गरेर मिटरब्याज पीडितका समस्या अध्ययन गर्न लागेको हो ।सरकारले उनीहरूसँग छलफल पनि गरेको थियो ।
देशभर मिटरब्याज पीडित र पीडकको खोजी गर्न सरकारले कार्यदल गठन गरेर काम अघि बढाएको हो ।आर्थिक रुपमा अप्ठेरोमा परेका सोझा ब्यक्तिलाई मिटरब्याजमा लगाउनेहरुले उनीहरुको सम्पत्ति आफ्नो नाममा पास गराएर पैसा लगानी गरी चर्को ब्याज असुल्ने र पैसा तिर्न नसके सम्पत्ति नै हडप्ने गरेको देशव्यापी समस्या देखिएपछि सकारले यसलाई आर्थिक अपराधको रुपमा लिइ नियन्त्रणको प्रयास थालेको हो ।