नुवाकोटको लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले वडाध्यक्षमा चुनाव हारेको व्यक्तिलाई राजनैतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।अध्यक्ष श्रेष्ठले दुई महिना अगाडि वडा अध्यक्षमा चुनाव हारेको हरिशरण लामिछानेलाई करारमा राजनैतिक सल्लाहकार नियुक्त गरेका हुन् ।शुक्रबार बसेको लिखु गाउँ कार्यपालिकाको आर्थिक वर्ष २०७९/०६० को प्रथम बैठकको निणर्यअनुसार लिखु गाउँकार्यपालिकाको अध्यक्षको राजनैतिक सल्लाहकारमा नियुक्ति गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष श्रेष्ठले आफनो राजनैतिक सल्लाहकारको रुपमा लामिछानेलाई नियुक्त गरेसँगै आलोचना भइरहेको छ ।लामिछाने कांग्रेसबाट लिखु गाउँपालिकाको वडा नम्बर ६ बाट वडाध्यक्षमा चुनाव लडेका थिए । उनी नेकपा माओवादी केन्द्रका सुमन भण्डारीसँग पराजित भएका थिए । नियुक्तिको विषयमा बुझन खोज्दा गाउँपालिका अध्यक्ष श्रेष्ठसँग सम्पर्क हुन सकेन ।गाउँपालिका उपाध्यक्ष सुभ्रदा अधिकारी उप्रेतिले राजनीतिक नियुक्तिको बारेमा आफूले सामाजिक संजालबाट जानकारी पाएको बताइन् ।उनले नेपालप्रेससँग भनिन्,‘ म विरामी भएर अध्यक्षज्यूसँग विदा मागेर बिहीबार नै उपचारको लागि काठमाडौं आए । उहाँले राम्रोसँग जानुस् भन्नुभएको थियो । नियुक्तीको विषयमा केही भन्नुभएको थिएन ।
कार्यपालिका बैठकको एजेण्डामा पनि नियुक्तिको विषय थिएन । कार्यपालिकाको बैठक बस्ने खबर मलाई शुक्रबार बिहान ८ बजेमात्र आएको थियो । बैठकको निर्णय बारे केही थाहा छैन ।मैले पनि फेसबुक हेरेर थाहा पाएको हो । ’उनका अनुसार अध्यक्षलेकसैसँग छलफल नै नगरी नियुक्ति गरेको देखिएको छ । आफूलाई गाउँपालिकाका अरु व्यक्तिहरुले नियुक्तिको विषयमा केहो भनेर सोधेको बताइन् ।- नेपालप्रेस डटकमबाट