रोबट र्‍यापरले भविष्यको संगीतको सानो पूर्व झलक दिए

  भदौ ०७, २०७९

मिडियाबाजी डटकम काठमाडौँ । एफएन मेकालाई संगीतको भविष्य भन्दै युनिभर्सल म्युजिक ग्रुपअन्तर्गतको क्यापिटल रेकर्डस्‌ले आफूसँग आबद्ध गराएको छ । ‘भविष्यमा संगीत, प्रविधि र गेमिङ संस्कृति आपसमा जोडिनेछन्,’ कम्पनीका र्‍यान रुडेनले भनेका छन्, ‘रोबट र्‍यापरले भविष्यको संगीतको सानो पूर्व झलक दिएका छन् ।

’कतिपय अध्ययनअनुसार सन् २०३० सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) वा अटोमेसन (स्वचालित यन्त्र)ले २ करोड वटा पेशा प्रतिस्थापन गर्दै छ । अर्थात्, ती काम मानिसको सट्टा एआई वा रोबटले गर्नेछन् । पत्रिकामा समाचार लेख्ने, रेडियो/टीभीमा समाचार पढ्ने, बैंकमा पैसा गन्ने, टेलिमार्केटिङजस्ता पेशा एआई मातहत पुगिसकेका छन् ।पछिल्लो पटक रोबटले संगीत क्षेत्रमा पनि फड्को मारेको छ ।

हिपहप विधाको र्‍याप संगीतमा एफएन मेका नामक रोबट र्‍यापर चर्चित बनिरहेका छन् । यो साता अमेरिकाको प्रख्यात संगीत कम्पनी क्यापिटल रेकर्डस्‌ले एफएन मेकासँग गीत निकाल्नेबारे सम्झौता–पत्रमा हस्ताक्षर गरेपछि यी रोबट र्‍यापरको प्रचार थप फैलिएको छ । सम्झौताअनुरुप एफएन मेकाले ‘फ्लोरिडा वाटर…’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । यसको म्युजिक भिडियो युट्युबमा उपलब्ध छ ।एफएन मेका एक भर्चुअल र्‍यापर हुन् ।

सामाजिक सञ्जालमा उनका थुप्रै फलोअर्स छन् । टिकटकमा मात्रै उनका ९० लाख फलोअर्स छन् । हरियो कपाल, दारी र हरियै आँखा भएका यी र्‍यापरको अनुहार र हातभरी ट्याटु छन् । सुनका दाँत र सुनकै एउटा हात भएका उनी निकै स्टाइलिस देखिन्छन् । उनले हालसम्म जम्मा तीनवटा गीत बजारमा ल्याएका छन् । यी र्‍यापरको निर्माण फ्याक्ट्री न्यु नामक भर्चुअल रेकर्ड कम्पनीका एन्थनी मार्टिनी र ब्रान्डनले गरेका हुन् ।

एफएन मेकाको आवाज वास्तविक मानिसको भए पनि बाँकी सबै एआई प्रविधिमा आधारित छ । ‘प्राविधिक रूपमा भन्नुपर्दा, एफएन मेकाको आवाज मानिसको हो,’ एन्थनीले भनेका छन्, ‘तर, बाँकी सबै एआईमा आधारित छ । स्वर, सुर–ताल, गीतका शब्द सबै रोबट र्‍यापरका आफ्ना हुन् ।’

तपाईंको प्रतिक्रिया

थप खबर