विश्व बैंक युएसएड,एमसिडिओ, आदिको सहयोगमा नेपालमा मिनी अस्पताल युक्त गाडी हस्तान्तरण

  श्रावण ०७, २०७९

नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ ।तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ ।

त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शैय्या र साथमा सिसीक्यामेरा । मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोग भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला ? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ । अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारी साधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने संशाधनसहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको हो ।यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले जिम्मेवारी पाएको छ । सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो ।मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसनको पैसा परेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले शनिबार नै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरे । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शैय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपदमा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ । नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ । कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ । कोभिड-१९ जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ ।

त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ । सरकारसँगको सहमतिअनुसार अशोक लेल्याण्डले उक्त गाडी खरिद गरी सरकारलाई बेचेको हो ।उक्त गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् ।गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले उक्त सुविधायुक्त गाडीले मानवीय जीवनलाई सङ्कटबाट बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उक्त गाडीलाई गुड्ने अस्पतालकै संज्ञा दिन्छन् । समारोहमा सशस्त्र प्रहरीलाई ६५ थान विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर