इंग्लिस प्रिमियर लिगको उपाधि सिटी लाई

  जेठ ०९, २०७९

काठमाडौं — म्यानचेस्टर सिटीले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर एस्टन भिल्लालाई ३–२ ले पराजित गर्दै आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । इतिहादमा भएको खेलमा प्राप्त नाटकीय जितपछि डिफेन्डिङ च्याम्पियन सिटीले लिग उपाधिको रक्षा गरेको हो । उसले प्रिमियर लिग जितेको भने यो छैटौंपल्ट हो । पेप ग्वार्डिओलाको सिटी लिभरपुलभन्दा एक अंकले अगाडि रहेर लिग तालिकाको शीर्ष स्थानमा रहन सफल रह्यो ।
म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा रह्यो र उसले पनि युरोपा लिग खेल्नेछ । सातौं स्थानमा आएको वेस्ट ह्यामले भने युरोपा कन्फ्रेन्स लिग खेल्नेछ । म्यानचेस्टर र वेस्ट ह्याम दुवैका लागि अन्तिम दिनको खेल सुखद रहेन । म्यानचेस्टर क्रिस्टल प्यालेससँग १–० र वेस्ट ह्याम ब्राइटनसँग ३–१ ले पराजित रहे ।

अर्कोतर्फ लिग तालिकाको १८ औं स्थानमा झरेर बर्नली भने रेलिगेसनमा परेको छ र उसले अर्को सिजन च्याम्पियनसिप लिग खेल्नेछ । बर्नली घरेलु मैदानमा न्युकासल युनाइटेडको हातबाट २–१ ले पराजित रह्यो । अन्तिम दिनको खेल सुरु हुन अगाडि बर्नली लिग तालिकामा लिड्स युनाइटेडभन्दा गोल अन्तरले माथि थियो । तर लिड्सले अर्को खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हरायो । यससँगै इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा बर्नलीको छ वर्षको बसाइमा पूर्णविराम लागेको हो ।

न्युकासलले कलम विल्सनले पेनाल्टीबाट गरेको गोल मद्दतले अग्रता लिएको थियो । उनले नै न्युकासलका लागि दोस्रो गोल पनि थपे । बर्नलीका लागि म्याक्सवेल कोरनेटले एक गोल फर्काए पनि त्यो पर्याप्त रहेन । बर्नली ३५ अंकमा पुछारबाट तेस्रो स्थानमा रह्यो । उसको ठीक माथि लिड्स ३८ अंकमा रह्यो । प्रिमियर लिगबाट यस अगाडि नै वाटफोर्ड र नर्विच रेलिगेसनमा परिसकेका छन् । लिड्सका लागि ज्याक हारमिसनले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । अन्य खेलमा लेस्टरले साउथह्याम्पटनलाई ४–१ ले हरायो ।

तपाईंको प्रतिक्रिया

थप खबर