मिडियाबाजी डटकम काठमाडौं,भाद्र ६।साविक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ । न्युकासलको मैदानमा भएको खेलमा सिटीले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको हो । रोमान्चक खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । तर, खेलको २८औं मिनेटमा मिगुएल अल्मिरोनले न्युकासलका लागि बराबरी गोल फर्काए ।
३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई २-१ को अग्रता दिलाए । खेलको ५४ औं मिनेटमा कप्तान काइरन ट्रिपियरले फ्रिकिकबाट गोल गर्दै न्युकासललाई ३-१ को अग्रता दिलाए । तीन खेलबाट ७ अंक जोड्दै सिटी दोस्रो स्थानमा उक्लेको छ । न्युकासल पनि अपराजित यात्रा कायम राख्दै ३ खेलबाट ५ अंक जोडेर छैटौं स्थानमा छ ।
न्युकासलले दुई गोलको अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा सिटीले चार मिनेटभित्र दुई गोल फर्कायो ।खेलको ६०औं मिनेटमा सिटीका एर्लिङ हालाण्डले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए ।त्यसपछि ६४ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरी गरेका थिए ।