मिडियाबाजी डटकम आषाढ ८ , काठमाडौं । आगामी मौद्रिक नीतिमा होटल उद्योगलाई निर्यातजन्य उद्योगलाई सरह सुविधा दिन होटल व्यवसायीहरुले माग गरेका छन् । होटल संघ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद्र अधिकारीलाई भेट्दै यस्तो माग गरेको हो । सो अवसरमा शाहले कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्र विशेष गरी होटल उद्योग सबैभन्दा बढी प्रभावित भई मुस्किलले सञ्चालनमा रहेको जानकारी गराए । आर्थिक वर्ष २०७९/८० को बजेटले पर्यटन तथा होटल उद्योगलाई प्राथमिकता प्राप्त उद्योगको रुपमा सम्बोधन गर्न नसकेको भन्दै यसलाई मौद्रिक नीतिबाट सम्बोधन गर्न हानले माग गरेको हो ।
होटल तथा पर्यटन उद्योगको वित्तीय अवस्था हालसम्म सहज भइनसकेको भन्दै हानले २०८१ असार मसान्तसम्मको पाक्ने व्याज छुट्टै हिसाब राखी हर्जना र पेनाल व्याज नलाग्ने व्यवस्था गर्न माग गरेको छ । होटलका लागि आवश्यक पर्ने थप कर्जा न्यून व्याजदरमा प्रवाह गरिनु पर्ने तथा कर्जा प्रक्रिया शुल्क सहुलियतपूर्ण गरिनुपर्ने माग समेत व्यवसायीको छ ।
हालसम्म पनि पर्यटन उद्योगको आर्थिक अवस्थामा सुधार नआई सकेको हुँदा सहुलियत कर्जाको सिमा २० करोडबाट बढाएर ५० करोड पुर्याउन माग गरिएको छ । यसरी प्राप्त गरिनुपर्ने सेवा सुविधाहरु कतिपय होटलहरुले प्राप्त गर्न नसकेको र कार्यान्वयन हुन नसकेको हुँदा सहजीकरण गर्दै कार्यान्वयन भए नभएको अनुगमन कार्यका लागि निजी क्षेत्र सम्मिलित अनुगमन समिति बनाए अगाडि बढ्न समेत हानले सुझाव दिएको छ ।