काउन्सिलले सचेत गरायो धमलालाई

  बैशाख ०९, २०७९

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलाले आचारसंहिता उल्लङ्घन गरेको निष्कर्षसहित सचेत गराएको छ । आउँदा दिनमा पेशागत आचरणसहित आचारसंहिता पालना गर्नका लागि काउन्सिलले शुक्रबार सचेत गराएको हो । विमानस्थलमा जबर्जस्ती प्रवेश गरी लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत गैर पेशागत आचरण देखाएको भन्दै काउन्सिलले यस्तो कारबाही गरेको हो । साथै काउन्सिलले धमलालाई पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा समेत शुक्रबार सहभागी गराएको छ ।काउन्सिलको बोर्ड सदस्य एवं विषय विज्ञ गोपाल बुढाथोकीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे प्रकाश पार्नुभयो । उहाँले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिनुभयो ।

अभिमुखिकरणमा सहभागीहरूको फोटो

सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन/प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्काबारे जानकारी दिइएको भन्दै निर्देशिकाको अध्ययन गरी पत्रकारले समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो ।दुई दिन अघि काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले धमलालाई सचेत गराउने र अभिमुखीकरण कक्षा लिन लगाउने निर्णय गरेको थियो । सोही अनुसार हरेक हप्ताको शुक्रबार सञ्चालन गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा धमला सहभागी भई पत्रकार आचारसंहिताबारे थप जानकारी लिनुभएको हो । काउन्सिलले अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी गर्ने गरेको यस कार्यक्रममा धमलाले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरूप सहभागिता जनाउनुभएको हो ।यसअघि पत्रकार धमलालाई प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा काउन्सिलको आचारसंहिता अनुगमन समितिले छलफलको लागि बोलाएको थियो ।- समाचार स्रोत:- प्रेस काउन्सिलको वेवसाइटबाट

तपाईंको प्रतिक्रिया

थप खबर