मिडियाबाजी डटकम काठमाडौं, पौष ६।बुटवल क्षेत्रका विभिन्न सार्वजनिक स्थलहरूमा तेस्रोलिंगी महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि तेस्रोलिंगी महिलाले होटल व्यवसायीलाई समेत चेतावनी दिएका छन् ।
होटल व्यवसायीहरुले दिएको सूचनाको आधारमा तेस्रोलिंगी महिलाहरू पक्राउ परेको भन्दै उनीहरूले पत्रकार सम्मेलन नै गरेर व्यवसायीलाई चेतावनी दिएका छन् ।इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आइतबार ७ जना तेस्रोलिंगी महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू १८ देखि ५० बर्ष उमेरका छन । ती महिला पक्राउ परेपछि उनीहरूले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर होटल व्यवसायीलाई धम्क्याएका छन् । होटल ब्यवसायीले अंग्रेजी नयाँ बर्षको अवसर पारेर पुस १५, १६ र १७ गते बुटवलमा आयोजना गरेको खाना महोत्सवलाई बिथोल्ने चेतावनी उनीहरूले दिएका छन् । खाना महोत्सवलाई असफल बनाउन देशभरका तेस्रोलिंगी बुटवलमा बोलाउने चेतावनी उनीहरूले दिए ।
पत्रकार सम्मेलनमा रेशम न्यौपाने, अवन्तिका घर्ती, अनु अनमोल लगायतले समाजले फरक दृष्टिकोणले हेर्ने समुदायलाई प्रहरीले समेत अन्याय गरेको बताए । उनीहरूले स्थानीयबासी र होटल व्यवसायीको उजुरीपछि तेस्रोलिंगी महिला पक्राउ परेको र पक्राउ परेका महिलालाई प्रहरीले यातना समेत दिने गरेको भन्दै विरोध समेत जनाएका छन् ।