नेपालले आज हङकङलाई हराए समूह विजेता बन्ने मौका छ।

  असार ०७, २०७९

नेपालको एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ।किनरारा एकेडेमी क्वालालाम्पुरमा हुने खेल दिउँसो १२ बजे सुरू हुनेछ। एक खेल अगाडि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपालले आज हङकङलाई हराए समूह विजेता बन्ने मौका छ। समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराएको थियो।  यसअघि पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको नेपाल लगातार चौथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

यता लगातार दोस्रो जित निकालेको हङकङ ४ अंकसहित दोस्रो स्थानमा छ। हङकङ पनि नेपाललाई हराउँदै समूह विजेता बन्ने प्रयासमा हुनेछ। यसअघि हङकङले भुटान र बहराइनलाई हराएको थियो।

यदि आज नेपाल विजयी भएमा समूह ए को उपविजेता र पराजित भएमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नुपर्नेछ। समूह ए मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ। मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ।फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टी २० प्रतियोगिता खेल्न पाउनेछन्।

तपाईंको प्रतिक्रिया

थप खबर