मिडियाबाजी डटकम काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग उमेरकै रहँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।
भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । शुक्रबार यो विषय संसदमा समेत उठेको थियो । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले यस विषयमा संसदको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए । युवतीको भनाइ अनुसार पक्राउ परेका व्यक्ति पाण्डे कन्सल्टेन्सीका सञ्चालक रहेको छन् ।