गभर्नर अधिकारीको राजीनामा माग्दै आज पनि ३ विद्यार्थी संगठनहरू विरोधमा उत्रिए

  श्रावण ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं : केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज पनि विरोधका कार्यक्रम आयोजना गरिएको छ । विरोधमा उत्रिएका ३ विद्यार्थी संगठनहरुले आज बुधबार राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका हुन् । अवैध गभर्नर राजीनामा दे भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठनहरुले बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेका हुन् ।

गभर्नरले राजीनामा नदिएसम्म विरोध कार्यक्रम जारी रहने विद्यार्थीहरुले जनाएका छन् । गभर्नर अधिकारी एमालेको एउटा विभाग सदस्य भएको भन्दै अहिले सर्वत्र विरोध भइरहेको छ । सडकदेखि सदनसम्म विरोध भइरहँदा पनि गभर्नरले राजीनामा गरेर मार्ग प्रशस्त गरेका छैनन् ।

मौद्रिक नीतिको अन्तिम तयारी भइरहँदा गभर्नर विवादमा तानिएका हुन् । यसैगरी, विद्यार्थी संगठनहरुले गभर्नरको शैक्षिक योग्यतामा पनि प्रश्न उठाएका छन् । साथै, गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटपूर्ण अवस्थामा पुगेको उनीहरुको दाबी छ । विशेषगरी, एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै चर्को आलोचना भइरहेको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरिसकेका छन् ।

विरोध कार्यक्रम अनुसार साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरका कार्यालयमा कालो ब्यानर राख्ने कार्यक्रम रहेको छ । यसैगरी, साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम गरिने भएको छ । यस्तै, साउन ७ गते सांसदहरुलाई गभर्नरलाई बर्खास्त गर्न माग गर्दै दबाका कार्यक्रम गरिने भएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर