राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ: झलनाथ खनाल

  पुष ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष ४।नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले भावी राष्ट्रपतिमाआफ्नो सशक्त दाबी रहने बताएका छन् ।

सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् । ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहोर्‍याउनु हुँदैन’ खनालले भने,‘अब सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । त्यसमा पार्टीको तर्फबाट मेरो दाबी रहन्छ ।’

एकीकृत समाजवादीले प्रधानमन्त्री र सभामुख दाबी नगरेकाले राष्ट्रपति पाउनुपर्ने भन्दै लागेको हो । विगतदेखि सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको रुपमा खनालको चर्चा हुँदै आएको थियो । पूर्व प्रधानमन्त्री र तत्कालीन एमाले अध्यक्ष समेत भइसकेकाले राष्ट्रपति बनाउँदा पदको समेत गरिमा बढ्ने नेताहरूले बताएका छन् ।यस्तै पार्टीको संसदीय दलको बैठकमा समेत अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट राष्ट्रपतिको दाबी रहने ब्रिफिङ गरेका छन् । पार्टीले राष्ट्रपति भागबण्डा लिएरै छाड्ने गरी बैठकमा राख्ने नेपालले बताएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर