सडक खन्ने क्रममा दाङमा भेटिए ऐतिहासिक सिक्काहरू

  असार ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिभी चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा जेसिभीले बाटो खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खड्काले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए । तर सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले नदिँदा यो कुरा बाहिर आएको छ । त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए ।

तुलसीपुर–४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो । त्यसपछि जग्गाधनीले त्यहाँ सिक्टा भेटिएको कुरा प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५३७ सिक्का भेटिका छन् । तीमध्ये ७६ वटा एक रुपैयाँ लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ती सिक्का तुलसीपुर–१५ निवासी सुवासले घर लगेका थिए ।

सिक्का भेटिएको कुरा जग्गाधनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धन गर्दा सुवासकै घरमै लुकाइ राखेको अवस्थामा बरामद गरेको हो ।बअनुसन्धनकै क्रममा सातवटा सिक्टा घरमा भुइँमा खसेको अवस्थामा भेटिएपछि ती सिक्का खोजतलास गर्न सहज भएको थियो । सिक्कामा वि सं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर