मिडियाबाजी डटकम काठमाडौं,असोज १। पोखरा महानगरका मेयर धनराज आचार्यले फेवातालदेखि ६५ मिटरसम्म नयाँ संरचना नबनाउन निर्देशन दिएका छन्।सर्वोच्च अदालतले फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन अन्तरिम आदेश दिएपछि मेयर आचार्यले उक्त निर्देशन दिएका हुन्।
मेयर आचार्यसहितको टोली शनिबार फेवाताल र यसको जलाधार क्षेत्रमा पर्ने सिमसार पुगेको थियो। सोही क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। चैत १६ गते बसेको महानगर कार्यपालिका बैठकले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३५ मिटरमा झार्ने निर्णय गरेको थियो।
तत्कालीन मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले फेवातालसहित पोखराका ९ वटै तालको मापदण्ड आधाभन्दा बढी घटाएर राष्ट्रिय ताल विकास समितिलाई सिफारिस गरेको थियो। पोखरा महानगरको उक्त निर्णयविरूद्ध अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरी खड्का र दीपेन्द्रप्रसाद घिमिरेले गत जेट ११ गते सर्वोच्चमा रिट दायर गरेको थियो।उनले अटेर गरी संरचना बनाए भत्काइदिने चेतावनी समेत दिएका छन्।