मिडियाबाजी डटकम काठमाडौं, मंसिर २९ । मतदान सकिएको करिब एक महिनापछि निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन बुझाएसँगै सरकार गठन गर्न र संसद अधिवेशनको लागि बाटो खुलेको छ ।
निर्वाचन आयोगका पदाधिकारीको टोली बिहीबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएको हो । आयोगले बुधबार मात्र निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको थियो ।निर्वाचनको अन्तिम परिणाम घोषणासँगै नयाँ सरकार गठन र संसदको अधिवेशन आह्वानको बाटो खुलेको छ ।संविधानको धारा ७६(८) मा ‘प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई बाटो खुलेको छ ।संविधानको धारा ९३ मा ‘निर्वाचनको अन्तिम परिणाम’ घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । २८ मंसिरमा निर्वाचन आयोगले पत्रकार सम्मेलन नै गरेर निर्वाचन परिणाम घोषणा गरेकाले ढिलोमा २७ पुसभित्र संघीय संसदको अधिवेशन डाक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ ढकाल अब राष्ट्रपतिले नयाँ जनादेश अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग औपचारिक/अनौपचारिक रुपमा छलफल थाल्ने र उनीहरूको सुझाव अनुसार सहजीकरण गर्ने बताएका छन् ।कुनैपनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले संविधानको धारा ७६(१) अनुसार सरकार बनाउने अवस्था छैन । उपधारा २ मा दुई वा त्यो भन्दा बढी दल मिलेर सरकार गठन गर्ने विकल्प छ ।