ललितपुर जिल्लामा अवस्थित सन्तानेश्वर महादेव , जहाँको दर्शनले हुन्छ सन्तानको प्राप्ति

  श्रावण ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण ३०। काठमाडौं उपत्यकाको ६४ शिवलिङ्ग मध्ये एक मानिने श्री सन्तानेश्वर महादेवको मन्दिर दक्षिण ललितपुरको झरुवारासीमा अवस्थित छ। ललितपुरको मुख्य केन्द्र लगनखेलबाट करिब ११ कि.मि दक्षिणमा रहेको यस मन्दिरलाई स्थानिय भाषामा हाछिङ्गले महाद्य:को नामले चिनिन्छ।यहाँबाट बग्ने मुख्य नदिलाई हाछिङ्गले माजुको नामले चिनिन्छ।

डोको घोप्टाएर राखेको जस्तो देखिने डाँडामा रहेको यस शिवालयमा सन्तानको कामना गरे सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ। नेवा: समुदायको अति प्रचलित धार्मिक ग्रन्थ श्री स्वस्थानीको अनुसार यसै स्थानमा सतिदेवीको ओंठ खसेको मानिन्छ। किंवदन्ती अनुसार आफ्ना पिता दक्ष प्रजापतिले महादेवको अपमान गरेपछी सहन नसकेकी सतिदेवीले सोही यज्ञमा हामफाली आफ्नो प्राण त्यागेका थिए। सतिको वियोगमा लास बोक्दै हिँडेका महादेवले सो शरीर छोड्नै मानेनन्। अन्तत: विष्णुले औंसा पारिदिनाले र प्रकृतिको नियमानुसार शरीर गल्दै गयो र विभिन्न स्थानमा अंगहरू खस्न थाले। यसरी शरिरका अंगहरु खसेको स्थानमा शक्तिपीठहरू उत्पन्न भए र जहाँ जहाँ शक्तिपीठहरू उत्पन्न भए त्यहाँ त्यहाँ शिव र शक्ति दुबैको स्थापना भयो। यसै अनुसार सन्तानेश्वर भएको स्थानमा सतिदेवीको तल्लो ओंठ खसेको मानिन्छ।तर यो कुरामा पनि मतभेद रहेको पाइन्छ। अर्को कथा अनुसार यस स्थानमा सतिदेवीको बायाँ स्तन खसेको मानिन्छ।यहाँ रहेको शिवलिङ्ग कुनै मानव निर्मित नभइ प्राकृतिक रुपमा रहेको शिलालाई मानिन्छ।

काठमाडौ उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिने यस स्थानमा नेपाली शैलीमा नयाँ मन्दिर निर्माण भएपछी अझै बढी घुइँचो लाग्न थालेको छ। यहाँ विशेष गरि श्रावण मास, तीज, बाला चतुर्दशी, शिवरात्री र एकादशीका दिनहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर