मिडियाबाजी डटकम काठमाण्डौं।सिन्धुपाल्चोक — बाह्रबिसे–तातोपानी(२६ किलोमिटर सडकखण्ड)को विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध हँुदा दर्जनौं कन्टेनर उत्तरी तातोपानी नाकाक्षेत्रमै थन्किएका छन् । अविरल वर्षाका कारण बिहीबार बेलुकी चीन जोड्ने तातोपानी क्षेत्रको कोदारी मेराकभन्दा माथिबाट पहिराको लेदो मिसिएको घट्टे खोलाले कजवे पुल बगाएपछि कन्टेनर कोदारी भ्यू प्वाइन्टमै थुनिएका हुन् ।
भोटेकोसी गाउँपालिका वडा २ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार बाढीले वरिपरिका कोदारी क्षेत्रका सडक भासिँदा पहिरो निम्तिएपछि स्थानीयलाई सचेत हुन आग्रह गरिएको छ । ‘पहिरो डरलाग्दो गरी आइरहे पनि आहिलेसम्म कुनै मानवीय क्षति गरेको छैन्, सीमाको सडक सहज सुरु गर्न आवश्यक पहलकदमी पनि लिइरहेका छौँ, पहिरोले ठूला ढुंगा थुपारेकाले अवरोध खोल्न दुई दिन लाग्ने देखिन्छ,’ उनले भने ।
चीनको खासा हुँदै लिपिङबाट कोदारी बजारभेगमा आइपुगेका कन्टेनर क्षतिग्रस्त घट्टे खोलाखण्ड वरिपरि सडक पूरै भासिन थालेकाले त्रासमा छेउमै रोकिने गरेका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय नआइपुग्दै त्यतै कन्टेनर रोकिने हुँदा कन्टेनर व्यवसायी र जनप्रतिनिधिले सम्बन्धित निकाय चरिकोट सडक डिभिजन कार्यालयलाई गुहारिरहेका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बिहीबार बेलुकीसम्म कोदारी बजारसम्म आइपुगेका दर्जन कन्टेनर बाढीपहिरोले सडक अवरुद्ध भएपछि उतै रोकिएको बताए ।
अघिल्लो बर्खामा असार १ गते लिपिङ बजार जोड्ने मोटरबेल पुल र कोदारी राजमार्ग (२६ किलोमिटर) को लार्चा,कोदारी बजार क्षेत्रको सडक भास्सिएको थियो । नाका केही समय ठप्प बनेपछि केही समय तुइन र कामदारबाट बोकेर व्यापारिक सामग्री ओसारिएको थियो ।
इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले पहिरोले पैदल आउजाउ जोखिमपूर्ण बनेपछि स्थानीयलाई सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको बताए ।