गण्डकी प्रदेशमा आठजना मन्त्रीहरूले नै टिकट पाएनन्

  असोज २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, असोज २८। आसन्न निर्वाचनमा गण्डकी सरकारका मुख्यमन्त्रीसहित ८ मन्त्रीहरू उम्मेदवार नै बन्न पाएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ८ मन्त्रीले गठबन्धनबाट टिकट पाउनै सकेनन् ।

दुई जना मन्त्रीले बागी उम्मेदवारी दिए पनि पार्टी निर्णयका कारण ‘ब्याक’ भए ।पार्टीले मुख्यमन्त्री पोखरेललाई प्रतिनिधिसभाकै लागि समानुपातिकमा बस्न सुझाए पनि उनी त्यसमा पनि अनिच्छुक भएको उनी निकट स्रोत बताउँछ । ‘समानुपातिकमा बस्न पार्टी नेतृत्वले सुझाएको थियो, १ र २ नम्बरमा नपाएपछि तल नाम नराख्न भन्नुभयो,’ ती नेताले भने ।

मुख्यमन्त्री पोखरेल राष्ट्रियसभामा जान इच्छुक छन् ।मुख्यमन्त्री पोखरेलले कांग्रेस नेता शशांक कोइरालाका लागि क्षेत्र खाली गराउँदा उम्मेदवार बन्न वञ्चित भए । प्रतिनिधिसभा चुनावमा शशांक कोइराला नवलपुर–१ बाट उठ्ने भएपछि मुख्यमन्त्री पोखरेलले टिकट नपाएका हुन् । उनी प्रदेशसभामा दोहोरिन चाहेनन् ।उनको क्षेत्रबाट गण्डकीकै कानुन मन्त्री विन्दु थापाले टिकट पाए । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई रिझाएका थापाले टिकट पाउनासाथ चुनावी अभियान सुरु गरेका छन् ।

स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङले समेत आगामी चुनावका लागि पार्टीबाट टिकट पाउन सकिनन् । यस्तै वन वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, भूमि व्यवस्था, कृषि मन्त्री चन्द्रबहादुर बुढा पनि टिकटबाट बञ्चित भएका छन् । कांग्रेसबाट मन्त्री बनेका बागलुङका मणिभद्र शर्माले समेत टिकट पाएनन् ।ऊर्जा मन्त्री हरिशरण आचार्य र शिक्षा मन्त्री मेखलाल श्रेष्ठले टिकट नपाउँदा पार्टीबाट बागी उम्मेदवारी नै दिएका थिए । मन्त्री आचार्यले नेपाल समाजवादी पार्टी (नेसपा) बाट गोरखा क्षेत्र नम्बर २ (क) मा बागी उम्मेदवारी दिएका थिए भने श्रेष्ठले स्याङ्जा १ (क) बाट बागी उम्मेदवारी दिएका थिए । तर यी दुवै मन्त्री पार्टी निर्णयका कारण बागी उम्मेदवारी फिर्ता लिन बाध्य बनेका छन् । आचार्यको ठाउँबाट नेसपाका फणीन्द्र देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवार बनेका छन् भने श्रेष्ठको क्षेत्रमा गठबन्धनले माओवादी नेतृ अमृता थापामगरलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारी फिर्ता लिएपछि मन्त्री आचार्यले गठबन्धनको राजनीतिले लोकतन्त्रको मजाक भएको र लोकतान्त्रिक पद्धति नै खतरामा पारेको बताए । गठबन्धनबाटै मन्त्री बनेका आचार्य अहिले भने गठबन्धनले स्वच्छ प्रतिस्पर्धालाई नै निषेध गरेको बताउँछन् । तर आफू पार्टीको इमानदार कार्यकर्ता भएकाले बागी उम्मेदवारी फिर्ता लिएको उनले बताए ।उता, श्रेष्ठलाई पार्टी सभापति शेरबहादुर देउवाले नै मनोनयन दिन लगाए पनि पछि गठबन्धनका कारण फिर्ता हुनुपरेको हो । ‘गठबन्धन भए पनि स्वस्थ प्रतिस्पर्धामा जाने भनेर मलाई पार्टी सभापतिले नोमिनेसन दिन लगाउनुभयो,’ उनले भने, ‘फेरि गठबन्धनको बैठकपछि सभापति, माओवादी अध्यक्ष लगायतले सहयोग गरिदिनुपर्यो भनेपछि मैले उम्मेदवारी फिर्ता लिएँ ।’गण्डकीबाट २ मन्त्रीले मात्र आगामी निर्वाचनका लागि टिकट पाएका छन् ।

गठबन्धनबाट कानुन मन्त्री विन्दु थापा कास्की २ (ख) मा उम्मेदवार बनेका छन् भने अर्थ मन्त्री रामजीप्रसाद बराल जीवन प्रतिनिधिसभाका लागि कास्की–३ बाट उठेका छन् । थापाले चुनावमा एमालेकी मीना गुरुङ र बरालले दामोदर बैरागीको सामना गर्नेछन् । युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भने स्वतन्त्र उम्मेदवार बनेर निर्विरोध भइसकेका छन् । उनको क्षेत्रमा उनीबाहेक अर्को उम्मेदवारी नभएकाले निर्विरोध भएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर