मिडियाबाजी डटकम काठमाडौं,भाद्र २९। चलचित्र विकास बोर्डको रियल टाइम डेटामा दोस्रो बिहीबार मध्यान्हसम्म ‘झिंगेदाउ’को देशव्यापी कमाइ २ करोड रुपैयाँ ग्रस छ ।बक्स अफिस जडान नभएका हलको हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कमाइ २ करोड ३० लाखसम्म हुनसक्ने बताइन्छ ।
बोर्डको बक्स अफिस टोलीले बुधबारदेखि हलको अनुगमन सुरु गरेकाले फिल्मको हिसाब केही दिनमा स्पष्ट आउला ।डेढ करोड रुपैयाँमा निर्माण भएको फिल्मको कमाइ तेस्रो सप्ताहन्तसम्म तीन करोड ग्रस पुग्ने प्रारम्भिक अनुमान छ । त्यसपछि ‘प्रेमगीत ३’ र हलिउड फिल्म ‘अवतार’ प्रदर्शन हुने भएकाले चुनौती पक्कै आउनेछ ।तर निर्विवाद के हो भने ‘झिंगेदाउ’ घरेलु बक्स अफिसमा ‘क्लिन हिट’ फिल्म हो ।
दोस्रो बिहीबार मध्यान्हसम्म पनि मल्टिप्लेक्समा झिंगेदाउको अकुपेन्सी ४० प्रतिशत छ, जुन लोभलाग्दो हो ।किन चल्यो त झिंगेदाउ ? समीक्षकहरुको विश्लेषणमा झिंगेदाउले विशुद्ध नेपाली मौलिकता र परिवेशलाई आत्मसात गरेको छ । भीमनिधि तिवारीको चर्चित कृतिमाथि बनेको फिल्मले साहित्यको बलियो संरचनालाई पछ्याएको छ ।