बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गरी रिपोर्ट बुझाउन निर्देशन

  असोज २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २६। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।बुधबार दिउँसो गृह मन्त्रालयमा बसेको बैठकमा केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुर्‍याएको क्षति र आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल भएको छ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।बैठकमा गृहमन्त्री खाणले हुम्ला, जुम्ला, मुगु र कालीकोटमा बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोर्ट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिए।

टोलीको समन्वय गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेवारी दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए। ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखहरूले आग्रह गरेका थिए। सरकारले तत्कालका लागि उपलब्ध गराउनु पर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालीन समाधानका लागि टोलीको रिपोर्ट आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाणले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर