यो नागरिकता विधेयक फिर्ता गरेर अर्को विधेयक ल्याउनुस्, पास गराउने जिम्मा मेरो: ओली

  भदौ २७, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नागरिकता विधेयक सरकारले फिर्ता गरेर अर्को विधेयक ल्याउन माग गरेका छन् जनकपुरधाममा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदबाट पास भएको विधेयक काम नलाग्ने रहेको भन्दै जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्ने प्रावधानसहित २/४ लाइन लेखेर अर्को विधेयक ल्याउन माग गरे।

सो विधेयक संसदबाट तुरून्त पास गराउने जिम्मा आफूले लिने ओलीले बताए।वर्तमान गठबन्धनको सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता नदिने उद्देश्यले विधेयकमाथि संसदमा छलफल नगरेको उनको आरोप छ।अहिले सदनबाट पारित भएको नागरिकता विधेयकमा गलत बुँदाहरू उल्लेख गरिएको ओलीले आरोप लगाए।‘प्रमुख दलहरूसँग सल्लाह गर्दैन, राष्ट्रपतिसँग विचार विमर्श गर्दैन। संसदमा जवाफ दिँदैन।

बाहिर संविधान नमान्ने अनाडीले बसेर राष्ट्रपतिले भनेको कुरा नमान्ने। त्यसैले हामीले गठबन्धनको बहुमत छँदैछ भनेर त्यसलाई अस्वीकार गर्यौं,’ ओलीले भने, ‘नागरिकताको समस्या गम्भीर समस्या हो। कमसेकम अहिले जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्छ। यति कुरा पास गराऔं न।

सरकारले यो प्रस्ताव संसदमा लगोस् तुरून्त पास गराउने जिम्मा मेरो। प्रतिपक्षले तुरून्त भोट हाल्छ, ताली बजाउँछ, हात उठाएर स्वागत गर्छ। म ७ दिनदेखि कराएको कर्यै छु। यिनीहरूलाई नागरिकताको प्रमाणपत्र दिलाउनु छैन। तर एमालेले नागरिकताको प्रमाणपत्र दिन दिएन भनेर झूटको खेती गर्नुछ, यिनीहरू जनता अल्मलाएर भोटको राजनीति गर्दैछन्।

’नागरिकताको सन्दर्भमा एमाले जति कसैले लडाइँ नलडेको उनको दाबी छ।‘२०५१ सालमा म गृहमन्त्री भएको बेला नागरिकता आयो, कराएर साँच्चै नागरिकताको समस्या के हो भनेर समाधान गर्न खोजे। समाधान गर्न खोज्दा सरकार नै ढालियो,’ एमाले अध्यक्ष ओलीले थपे, ‘अहिलेकै गठबन्धनकै साठगाँठमा म प्रधानमन्त्री हुँदा सरकारले ल्याएको नागरिकता विधेयक समितिमा चार वर्षदेखि रोकेकै रोक्यै भयो। तीन वर्ष समितिमा राख्यो।

संसदमा रोकेपछि संविधान बमोजिम जन्मसिद्धका सन्तानले नागरिकता पाउनुपर्छ भनेर अध्यादेशबाट ऐन ल्याएर। यही गठबन्धनकै मानिसका इशारामा मुद्दा हालेर अध्यादेश रोकाइयो।’सम्बोधनको क्रममा उनले कालो झण्डा देखाउन खोज्दा पक्राउ परेका युवाहरूलाई पनि रिहा गर्न प्रहरीसँग आग्रह गरे।‘ती युवाहरू कसैले उक्साएर, गलत सूचना दिएर एमालेका कारण विधेयक रोकियो भनेर कालो झण्डा देखाउन पठाएका हुनसक्छ।

भुलबस, भ्रमबस कालो झण्डा देखाउन आएको हुनसक्छ। गल्ती नगर्नेलाई हामी केही गर्दैनौं। उनीहरू पक्राउ परेका छन्। प्रहरीलाई तत्काल रिहा गर्न भन्छु। यही सभामा ल्याउन आग्रह गर्छु,’ उनले भनेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर