मिडियाबाजी डटकम काठमाडौं ,भाद्र २६।। तामाङ समुदायको संस्कार र संस्कृति सम्बर्द्धन प्रबर्द्धन र विकास गर्ने मुख्य उदेश्य सहित म्हेन्दोमाया कलाकार संघको सातौं वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विशेषगरी रसुवा,धादिङ र नुवाकोट जिल्लामा बसोबास गर्ने तामाङहरुको पहिचानको रुपमा स्थापित म्हेन्दोमाया गीत संगीत क्षेत्रमा आबद्ध कलाकारहरूको छाता संगठनको रुपमा चिनिने म्हेन्दोमाया कलाकारसंघको वार्षिक सभामा पुर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्य एवम् पुर्वमन्त्रि पर्शुराम तामाङ लगायतका विशिष्ट व्यक्तिहरुको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौं सामाखुसी स्थित एक रेष्टुरेन्टमा सम्पन्न भएको उक्त वार्षिक सभामा संघका महासचिव आरम्भ तामाङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रुपा एस घले तामाङले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
तामाङले पेस गरेको वार्षिक प्रतिवेदन हलबाट ताली बजाएर पारित गरेका छन् ।कार्यक्रममा म्हेन्दोमाया गीत संगीतलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा योगदान गर्ने कलाकार,समाजसेवी,पत्रकारहरूलाई सम्मानपत्र समेत प्रदान गरेसंगै म्हेन्दोमाया कलाकार संघका कलाकारहरूले आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए ।कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित भएका पुर्वमन्त्रि पर्शुराम तामाङलेले म्हेन्दोमाया गीत संगीतमा पनि पछिल्लो चरण आउन थालेको विकृति विसंगति माथि चिन्ता व्यक्त गरेका छन् ।
उनले भने ‘ म्हेन्दोमाया गीत पश्चिमी तामाङहरूको पहिचान हो तर पछिल्लो चरण म्हेन्दोमाया गीत संगीतमा विकृतिहरु आउन थालेको छ यसलाई हामीले रोक्नु पर्छ, म्हेन्दो माया गीतलाई संरक्षण र प्रवर्द्धन गर्ने हामी सबैको दायित्व हो’ ।त्यसैगरी प्रमुखअतिथि दिलमान पाख्रिनले पनि म्हेन्दोमाया गीत संगीत अव्यवस्थित हुदै गएको हो कि भन्ने आफुलाई अनुभूति हुन थालेको बताए । साथै उनले तामाङहरुको संघसंस्थाहरुमा पुर्वेली तामाङ गीत संगीतले बढी स्थान पाउने गरेकोले अब पश्चिमेली तामाङहरूको पहिचानको रुपमा म्हेन्दोमाया गीतको व्यापकता बढाउनु पर्ने धारणा राखेका छन् ।