मिडियाबाजी डटकम काठमाडौं, कार्तिक २४ । पत्रकारलाई दुर्व्यवहार गर्ने डिएसपीलाई कारबाहीको माग गर्दै पत्रकार महासंघ धादिङ शाखा तथा केन्द्रले विज्ञप्ति जारी भएको छ।
महासंघको धादिङ कार्यसमिति सदस्य तथा ग्यालेक्सी फोर के टेलिभिजनका धादिङ जिल्ला सम्वादाता विकास रौनियारलाई समाचार संकलनका क्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले गालीगलौज सहित दुर्व्यवहार गरेको छ ।
महासंघ धादिङ शाखाका अनुसार कात्तिक २३ गते बुधबार रामनगरस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा पुगेका पत्रकार रौनियारलाई समाचारका लागि तथ्याङ्क र भिजुयल बाइट माग गर्दा प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सापकोटाले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । उनको मोबाइल समेत जबर्जस्ती खोस्न खोजिएको थियो।
नागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा जुटेका पत्रकारलाई संविधानले सुनिश्चित गरेको अधिकारको माग गर्दा एउटा जिम्मेवार अधिकारीबाट यस किसिमको व्यवहार हुनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघले पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यो घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरेर पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दै जिल्ला शाखा र बाट जारी विज्ञप्तिमा जनाइएको छ ।