नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने

  असोज २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २३।नेपालमा यस वर्षको अक्टोबर २ तारिख अर्थात् असोज १६ गते सम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ ।जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो ।

हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताए । उनि भन्छन्, “मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।”अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल बताउछन् ।

अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रीत रहेको मौसमविद् पौडेलले बताए । उनका अनुसार आगामी मङ्गलबारदेखि मौसम सुधार आउनेछ ।

मनसुन रहदासम्म पानी पर्ने सम्भावना रहेपनि लगातारको झरी पर्दैन ।महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर