मिडियाबाजी डटकम काठमाडौं, श्रावण २४। कानूनी परामर्शका लागि अधिवक्ताको च्याम्बरमा बसिरहेका एक अभियुक्तलाई धनुषा प्रहरीले समातेर लगेको भन्दै नेपाल बार एशोसिएशन जनकपुरले आपत्ति जनाएको छ ।एशोसिएशनका पूर्व अध्यक्ष एवं अधिवक्ता चन्द्रकुमार शर्मा मैनालीको जनकपुरधामस्थित भानु चोकमा रहेको रामजानकी ल फर्मबाट सोमबार बिहान ज्यानमार्ने उद्योग मुद्दामा धनुषा जिल्ला अदालतमा हाजिर हुनका लागि बसिरहेका बेला अभियुक्त रामपुकार मण्डललाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती लगेको भन्दै बार एशोसिएशनले उक्त घटनालाई संवैधानिक अधिकारमाथिको हस्तक्षेप भनेको छ ।

एशोसिएशनले विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘धनुषाको कमला नगरपालिका बस्ने अभियुक्त मण्डललाई वकिलको च्याम्बरबाटै पक्राउ गरिनु नेपालको संविधानको धारा २० मा कुनै पनि मुद्दाको अभियुक्तले आफूले रोजेको कानुन व्यवसायीसँग कानुनी परामर्श लिन पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य भएबाट सो कार्यको नेपाल बार एशोसिएशन जनकपुर घोर भर्त्सना गर्दै खेद प्रकट गर्दछ ।’ अब उप्रान्त स्वतन्त्र कानुन व्यवसायीको फर्मबाट कानुनी परामर्श लिन पाउने अधिकारमा प्रशासनबाट हस्तक्षेप भएमा कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।