कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्ता गठबन्धनको मुख्य दल कांग्रेसबाटै धोका र षडयन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले गठबन्धन सबै ठाउँमा क्लियर हुन नसकेको भन्दै धोका हुन सक्ने बताएका हुन् ।
सोमबारbबिहान यहाँको कैलारी गाउँपालिकामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त आशंका व्यक्त गरेका हुन् । उक्त गाउँपालिका अध्यक्ष पदमा गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले आफ्नो दलका नेतालाई उम्मेदवारी दिन लगाएकोप्रति उनको आशंका केन्द्रित थियो । गठबन्धनमा उक्त गाउँपालिकाको अध्यक्ष पद माओवादीलाई दिने सहमति भएको थियो, तर कांग्रेसले अगाडि नै आफ्ना स्थानीय नेतालाई अध्यक्षका लागि टिकट दिइसकेको थियो ।यस सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले अन्य धेरै स्थानमा पनि गठबन्धन ‘क्लियर’ नभएको बताए । कतिपय ठाउँमा कांग्रेसबाटै बागी उम्मेदवार उठेकोतर्फ इंगित गर्दै उनले भने, ‘कांग्रेसले यहाँ पनि धोका दियो, गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको हो ।’
उनले कांग्रेसले त्यसो गरे आफूहरु पनि एक्लै चुनाव लड्नुपर्ने बताए । बेइमानी र धोका सैह्य नहुने भन्दै उनले उक्त गाउँपालिकामा आफ्नो पार्टीका तर्फबाट अघि सरेका उपाध्यक्ष पदका उम्मेदवारलाई जिताउन समेत आह्वान गरे । कैलारीको उपाध्यक्ष पदमा माओवादीबाट लक्ष्मी सत्वगौवा चौधरीले उम्मेदवारी दिएकी छन् ।गठबन्धनको सहमतिअनुसार त माओवादीलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष दिने भन्ने थियो । तर सहमतिअगावै कांग्रेसले आफ्ना उम्मेदवार रामसमज चौधरीलाई टिकट दिइसकेको थियो, जुन पछि फिर्ता लिइएन ।