मिडियाबाजी डटकम काठमाडौं,मंसिर २२।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।
बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको विद्युतीय सामग्रीहरुको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२२’मा उनले आफूहरूले विद्युतीय पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताए । घिसिङले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि इभी एक्स्पो (विद्युतीय गाडीहरूको प्रदर्शनी)हरू भइरहेको बताए । प्राधिकरण गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको उनको भनाई छ । घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए । उनले अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताए ।
घिसिङले वर्षाको समयमा विद्युत निर्यात गरिरहेको बताए । वद्युत निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको उनको तर्क छ । आफूहरुले विद्युत निर्यातमा नभई खपत बढाउन नै जोड दिएको भन्दै उनले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । घिसिङले विद्युत प्रशारण, वितरण र सवस्टेशनको विकास नभई विद्युत खपत बढाउन नसकिने बताए ।