मिडियाबाजी डटकम काठमाडौं,भाद्र २३। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गरेपछि स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको बुधबार भिक्टोरिया प्लेजनलाई ५-१ ले पराजित गरेको छ ।३४ वर्षीय लेवान्डोस्कीले तीन फरक क्लबबका लागि च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।
उनले यसअघि जर्मनीमा हुँदा बोरुसिया डर्टमण्ड र बायर्नबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गरिसकेका छन् । यसै समरमा जर्मन क्लब बायर्न म्युनिख छाडेर क्याटलान पुगेका लेवान्डोस्कीको बार्सिलोनाका लागि यो पहिलो ह्याट्रिक हो । उनले बार्सिलोनाका लागि पछिल्लो ५ खेलमा ८ गोल गरिसकेका छन् ।समूह सी अन्तर्गत घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लेवान्डोस्कीले ३४औं, पहिलो हाफको इन्जुरी र ६७औं मिनेटमा गोल गरे ।यस्तै फ्रान्क केस्सीले १३औं र फेरान टोरेसले ७७औं मिनेटमा गोल गरे ।
प्लेजनका लागि जान साकारले ४४औं मिनेटमा गोल गरे ।समूह सी कै अर्को खेलमा लेवान्डोस्कीको पूर्व क्लब बायर्नले इटालियन क्लब इन्टर मिलानलाई २-० ले हरायो । बायर्नका लागि लरे सानेले एक गोल गर्दा इन्टर डी एम्ब्रोसिओले आत्मघाती गोल गरे ।च्याम्पियन्स लिग अन्तर्गत बुधबारकै अन्य खेल अन्तर्गत समूह ए मा नापोलीले लिभरपुललाई ४-१ ले र आयाक्ले रेन्जर्सलाई ४-० ले हराएको छ ।