मिडियाबाजी डटकम काठमाडौं,श्रावण २३। चालु आर्थिक वर्षको बजेटबाट सरकारले कर्मचारीहरूको तलब १५ प्रतिशतले बढाएको छ । तर, श्रावणबाट लागू हुने तलबमानमा अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलब भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ । यसअनुसार शाखा अधिकृतहरूले अब श्रावणबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत , सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् ।१५ श्रावणमा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले यस्तो विभेदपूर्ण तरिकाले नयाँ तलबमान प्रस्ताव गरेको एक सहसचिवले बताए ।

मर्यादाक्रममा तल हुने सुरक्षा निकायका कर्मचारीहरूको तलब बढी हुने अवस्था आएपछि माथिल्ला पदमा निजामती कर्मचारीहरूको तलब बजेटको घोषणाभन्दा बढी दरमा बढाउन प्रस्ताव गरिएको हो ।अर्थ मन्त्रालयको प्रस्तावमामाथि तल्ला तहका कर्मचारीले विरोध गरेका छन् । सबैको समान ढंगले तलब बढाउनुपर्ने उनीहरूको माग छ । संसदीय समिति नै प्रयोग गरेर बजेटले तोकेको भन्दा बढी तलब बढाउनु उचित नहुने मत तल्ला तहका कर्मचारीहरूको छ ।