मिडियाबाजी डटकम काठमाडौं,मंसिर २१।सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरले ३० वर्षीय श्रीमती मिना आले मगरको हत्या गरेका छन्।
उनले मिनाको धारिलो हतियारले घाँटी छिनालेर हत्या गरेका हुन्।हत्या गरेर टाउको प्लाटिकमा राखी इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।मंगलबार दिउँसो पन्चपुरी–३ तोक्माबाट प्रहरी कार्यालय हिँडेका उनलाई पञ्चपुरी–२ पलैंटेमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे।प्लास्टिकमा टाउको बोकेर हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।अम्मरबहादुर दुवई र मलेसिया गरी आठ वर्ष वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको भदौमा मात्रै उनी स्वदेश फर्किएका हुन्।
उनीहरूका ११ वर्षीय एक छोरा र ८ वर्षीय छोरी छन्। छाेराछाेरी विद्यालय गएको मौकामा मंगलबार दिउँसो करिब ३ बजेतिर अम्मरबहादुरले श्रीमतीको घाँटी रेटेर हत्या गरेका हुन्।पछि छिमेकी र आफन्तलाई श्रीमतीकाे काटेकाे टाउको देखाउँदै अम्मरबहादुर प्रहरी कार्यालयतिर हिँडेकाे स्थानीयले बताए।यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुरज कार्कीले प्रारम्भिक अनुसन्धान अनुसार वैदेशिक रोजगारीमा गएका श्रीमानले श्रीमतीको विश्वास नगर्दा र आपसी झगडाका कारण घटना हुन गएको बताए।आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेको र दुईजनाबीच शंका उपशंका हुँदा हत्या गरेको अम्मरबहादुरले बयानमा बताएका छन्,’ डिएसपी कार्कीले भने, ‘उनलाई थप अनुसन्धाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ।’मिनाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ। पोष्टमार्टमपछि मात्रै अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ।
आर्थिक हिसाकिताब र श्रीमतीको अविश्वासका कारण बेला–बेला दुईजनाबीच झगडा हुँदै आएको वडा नम्बर–३ का वडाध्यक्ष बलबहादुर रोकायले जानकारी दिए।उनका अनुसार झगडाका कारण मिना भागेर माइत गएकी थिइन्। माइतबाट आएको दुई दिनमा उनको हत्या भएको हो।‘नजिकका छिमेकी र आफन्तलाई बुझ्दा अपरिचित व्यक्तिको फोन र आर्थिक हिसाबकिताब कै कारण एक वर्षदेखि उनीहरूको झगडा हुँदै आएको रहेछ,’ वडाध्यक्ष रोकायले भने, ‘झगडा हुँदा मिना भागेर माइत गएकी रहेछन्। अम्मरबहादुर आफैँ लिन गएका रैछन्। ल्याएको दुई दिनमा त हत्या नै भएछ।’