तीन दशकदेखि बन्द वीरगञ्ज कृषि कम्पनी पुनः सञ्चालनमा आउने

  कार्तिक १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १९। करिब तीन दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःं सञ्चालनमा आउने भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टिमले कारखाना सञ्चालनको तयारी गरेको छ ।आविष्कार केन्द्रको १६ जना प्राविधिक टिमले ४ दिनदेखि कारखानामा दैनिक १२ देखि १६ घन्टा खटेर पुराना मेसिन सरसफाइ गर्ने, चल्नसक्ने र फाल्नुपर्ने मेसिनहरू छुट्याउने, विद्युतीकरणको अवस्था र कारखाना सञ्चालनका लागि तत्काल लाग्ने लागतको विषयमा प्रारम्भिक अध्ययन सुरु गरेको छ । असोज ११ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताका आधारमा कारखाना सञ्चालनको सम्पूर्ण जिम्मा सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको हो ।सोही सम्झौता अनुसार आविष्कार केन्द्रले कारखानाको अवस्थाबारे २ साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने र सोही आधारमा काम अगाडि बढाउने जनाएको छ ।

‘अहिले हामी प्रारम्भिक काममा छौँ, अहिले कारखाना के कस्तो अवस्था छ ? मेसिन सञ्चालन गर्न मोटामोटी खर्च कति लाग्छ ? चल्ने खालका र फाल्नुपर्ने मेसिनहरू के के छन् ? त्यसको लगत निकालेर करिब २ हप्ताभित्र एउटा रिपोर्ट सरकारलाई बुझाउँछौँ र त्यो रिपोर्टको आधारमा केही दिन सरकारको निर्देशन कुर्छौं र निर्देशन आउन ढिलो भयो भने दोस्रो चरणमा ठुला मेसिनहरू पुरै खोलेर सरसफाइ गर्ने काम सुरु गर्छौँ’ आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भने ।

आविष्कार केन्द्रले पुराना मेसिनहरूको मर्मत सम्भार गरेर तत्काल कारखाना सञ्चालनका लागि ८ देखि १० करोड आवश्यक पर्ने जनाएको छ । ‘इन्जिनियरिङ्ग इस्टिमेट हुन बाँकी छ तर, तत्काललाई ८/१० करोड भयो भने मर्मतसम्भारको काम र ३० वर्षअघि जुन अवस्थामा कारखाना बन्द भएको थियो, त्यो अवस्थामा चल्न सक्ने स्थितिसम्म ल्याउन सकिन्छ,’ पुनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर