मिडियाबाजी डटकम काठमाडौं,श्रावण २०। धादिङ।धादिङको खनियाँबास गाउँपालिका-४ का बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि भएको छ । मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको पहेलो धातु र ५० रुपैँया र १०० रुपैँयाको डलर नोट परीक्षणको क्रममा नक्कली पुष्टि भएको हो ।
मंगलबार ग १ ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेसी आउँदै गर्दा बेगे र उनकै गाउँका शोभा तामाङ पक्राउ परेका थिए । १ किलो सुन र नक्कली नोट सहित बेगे पक्राउ परेपछि बुधबार प्रहरीले घर खानतलासी गरेको थियो । बेगेको घरबाट ५ सय ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान पहेँलो धातु प्रहरीले बरामद गरेको थियो । बरामद भएको पहेँलो धातु नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङले नक्कली प्रमाणित गरिदिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।
बेगेको घरबाट प्रहरीले ३ वटा पेस्तोल र पेस्तोलमा लाग्ने गोलीहरू पनि बरामद गरेको थियो । सुन ल्याउँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरिक्षक रञ्जन अवाले बताए । एउटै व्यक्तिको घरबाट ३ वटा पेस्तोल, ठूलो परिणाममा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती थपिएको छ । पक्राउ परेको पेस्तोल माओवादी द्धन्द्धकालदेखि नै घरमा भएको बयानमा बताएको प्रहरीले जनाएको छ । सुन भनिएको धातु भने केही वर्ष अघि अन्य व्यक्तिहरूबीच धादिङबेसीमै कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको एसपी राकेश सिंहले बताए ।
पक्राउ परेका बेगे यस अघि पनि विभिन्न अपराधिक क्रियाकलापमा पक्राउ परेका थिए । दुई वर्षअघि कारागारभित्रबाटै पनि काम गरिदिन्छु भन्दै व्यक्तिहरूसँग रकम असुलेको पीडितहरूले बताएका छन् । पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबार सन्बन्धी कसुरमा मुद्दा चलाइएको छ । शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।