मिडियाबाजी डटकम काठमाडौं,मंसिर १८।बाग्मती सरसफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार बाग्मती सफाइ हुने गरेको छ ।‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर प्रत्येक हप्ता बिहान साँढे सात बजेदेखि साढे नौ बजेसम्म यो अभियान चल्ने गर्छ ।
महाअभियानले शनिबार तिलगङ्गामा चार सय ९९औँ हप्ताको सफाइ गरेको छ । सफाइबाट १.५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा .माला खरेलले जानकारी दिए।सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौं महानगरपालिका वडा नं ११ वडाध्यक्ष हीरालाल तण्डुकार, बाग्मती सफाइ महाअभियानका अभियानकर्मीहरू क्रमशः डा. लक्ष्मी पौडेल, चक्रबहादुर चन्द, झलक ढुङ्गेल, नरेश श्रेष्ठ, दुर्गा रावल, मदन पोखरेल, आशा पाण्डे, रामशरण कार्कीलगायतको सक्रियता थियो ।यसैगरी शनिबार गुह्येश्वरीमाथिको बाग्मतीलगायत बाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।
सफाइ अभियान जारी रहे पनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ ।स्थानीय सरकारको बेवास्ताले अभियानले गरेको सफाइ दिगो हुन नसकेको अभियानकर्मीको गुनासो छ । प्रदेश एवं केन्द्रीय सरकारले पनि फोहोर व्यवस्थापनमा उचित नियम, कानून नबनाउने र भएका नियम, कानून पनि कार्यान्वयन नगर्दा फोहोरबाट मोहोर बनाउन उपयुक्त योजना नबनेको धेरैको ठम्याइ छ । नीति नै सही नभएकाले सरसफाइमा समस्या आइरहने अभियानकर्मीहरूको गुनासो छ ।